सिरहा,फाल्गुन १७ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएकोले यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताउनुभएको छ ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा सदरमुकाममा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुँदै मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताउनुभयो ।

नेपालको इतिहासमै पहिलोपटक राजनीतिक दलको तर्फबाट हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको उल्लेख गर्दै यसले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने उल्लेख गर्नुभयो । 

होचो स्थान कचनकवलबट सुरु गरिएको यो अभियानको दोस्रो संस्करण मध्यपहाडी लोकमार्गहुँदै देशको अग्लो भूभाग रहेको सोलुखुम्बुमा गएर समापन गरिने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, अग्नी सापकोटा, पम्फा भुसाल, जनार्दन शर्मा, विश्वनाथ साह, हरिनारायण चौधरी लगायतका नेताहरुको सहभागिता रहेको थियो । टोली आजै साँझ धनुषा पुग्ने कार्यक्रम रहेको जनाईको छ ।