सिरहा,फाल्गुन १७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनको परिबारलाई न्याय दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा आइपुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो । 

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि सदा मृत फेला परेकी थिइन ।

आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिइने अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । 

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन ।