सिरहा,माघ २६ गते । एशियाली विकास बैंकको सहयोगमा नेपालकै महत्वपूर्ण पूर्वाधार विकास परियोजनाको रुपमा कंचनपुर कमला सडक योजनाको काम शुरु भएको तीन वर्ष वितेछ । तीन वर्षभित्र परियोजनाको काम सम्पन्न गर्ने गरी चिनिया कम्पनीले ठेक्का सकार गरे पनि हालसम्म ५५.३९ प्रतिशत मात्र प्रगति रहेको छ । 

कंचनपुर कमला सडक योजना शुरु भएको तीन वर्ष वितिसक्दा समेत प्रगति भन्ने ५५.३९ प्रतिशत मात्र रहेको छ । 

नेपालकै महत्वपूर्ण पूर्वाधार विकास परियोजनाको रुपमा रहेको उक्त सडक योजना निर्माण गर्ने ठेक्का चिनिया कम्पनीले पाएका हुन् । तर उक्त निर्माण कम्पनीको  ढुलासुस्तीका कारण समयाभित्र निर्माण सम्पन्न नगरिदिंदा स्थानीयले सास्ती खेप्न वाध्य हुनु परेको हो । 

२०२० अक्टोबरबाट पूर्व पश्चिम लोकमार्गको ४७.५ किलोमिटर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीको विभिन्न वहानाका कारण अझै उक्त परियोजनाको ४४.६१ प्रतिशत काम बाँकी नै छ । 

कोभिड, इलेक्ट्रिक पोल सार्ने काममा ढिलाई भएको कारण पेश गरे पछि नेपाल सरकारले थप एक वर्ष अर्थात् २०२५ डिसेम्बर ३१ सम्ममा निर्माण सम्पन्न गर्ने समयावधि दिएकोे कंचनपुर कमला सडक योजनाका ईन्जिनियर सरोज कुमार कोइरालाले वताउनुभयो । 

नेपाल सरकारले दोस्रो पटकका लागि एक वर्ष म्याद थप गरेको भए पनि परियोजनाको काम ३÷४ महिनादेखि ठप्प प्रायः रहेकोले सो अवधिभित्र पनि निर्माण कार्य सम्पन्न हुनेमा आफूहरु आशावादी नरहेको स्थानीयले गुनासो गरेका छन् ।