सिरहा,माघ १७ गते । सिरहाको लहानस्थित कृषि सामाग्री कम्पनीमा रसायनिक मल भरिभराउ हुँदा समेत प्रदेश सरकारको वेवास्ताको कारण रसायनिक मल वितरणमा अन्यौलता छ ।
प्रदेश सरकार मन्त्रालयले स्थानीय तहलाई वितरण गर्ने मलको संख्या भाग लगाएर आउनुपर्ने भए पनि हालसम्म सो प्रक्रिया नहुँदा सिरहामा रसायनिक मल वितरण नसकिएको कृषि सामाग्री कम्पनीका शाखा प्रबन्धक दीपराज पौडेल वताउनुहुन्छ ।
प्रक्रियागत त्रुटीका कारण गहुँमा रसायनिक मल हाल्ने पिक समय हुँदा समेत कृषकहरुले मल पाएका छैनन् । तर सामाग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डि।ए।पी। र सात सय मेट्रिक टन युरिया मल स्टोक रहेको कार्यालयले जानकारी दिएको छ ।
प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार प्रदेश मन्त्रालयले स्थानीय तहलाई वितरण गर्ने रसायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ । लहानस्थित कृषि सामाग्री कम्पनीले कोशी प्रदेशका खोटांग, ओखलढुंगा, सोलु र मधेश प्रदेशको सिरहामा मल वितरण गर्ने जिम्मेवारी छ ।
कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको संख्या उल्लेख गरी पठाइसकिएकोले कोशी प्रदेशका ती जिल्लामा मल वितरण भए पनि मधेश प्रदेश सरकारले हालसम्म विवरण नपठाउँदा सिरहामा रसायनिक मल वितरण हुन सकेको छैन ।