सिरहा,मंसिर,१७ गते । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृह मन्त्री नारायणकाजी श्रेष्ठले ठूला ठूला व्यक्तिहरु भ्रष्टाचार गरेकोमा कानून बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको वताउनुभयो । 

आज सिरहाको गोलबजार वडा नं. ३ मुसहर्नियामा आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारीहरु धमाधम पक्राउ गर्दै अन्यहरुको अनुसन्धान पनि तीब्र रुपमा बढाएपछि आफूहरु पनि फसिने डरले माओवादी नेतृत्वको सरकारलाई रातारात ढालेर भ्रष्टाचारीहरु सम्मिलित नयाँ सरकार बनाएको वताउनुभयो ।  

उपाध्यक्ष श्रेष्ठले हामी अहिलेको सरकार ढालेर आफू सरकारमा जान आफ्नो पार्टी लालायित नभएको जिकिर गर्दै अबका दिनमा परिवर्तन ल्याउन सक्ने गरी सरकारमा जाने वताउनुभयो । 

उपाध्यक्ष श्रेष्ठले पाँच वटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको वताउँदै राष्ट्रको सार्वभौम सत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोश्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेश्रो कार्यभार हो भने सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति गर्नु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु हाम्रो मुल अभिष्ट र मुख्य कार्यभार हो ।

उपाध्यक्ष श्रेष्ठले देशैभरी नेकपा माओवादीले पार्टी निर्माण गर्ने अभियान थालेको वताउँदै  त्यसैको स्वरुपको रुपमा यो तीन दिने प्रशिक्षणलाई लिन सकिने वताउनुभयो । 

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेल , उप महासचिव गिरिराजमणि पोखरेल स्थायी समिति सदस्य द्वय प्रशुराम तामाङ्ग र विश्वनाथ साह, केन्द्रीय सदस्य हरिनारायण चौधरी तथा वैकल्पिक केन्द्रिय सदस्य चन्देस्वर गडेरी लगायतको सहभागी रहेका छन् ।

आवासीय रुपमा संचालित प्रशिक्षणमा जिल्लाका दुई सय बढी सय नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।