सिरहा,कार्तिक २२ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल बन्न लागेको १३ वर्ष वितिसक्दा समेत निर्माण सम्पन्न नहुँदा स्थानीयलाई सास्ती भएको छ । वर्षौदेखि पुल बन्ला भन्दै पर्खाइमा बसेका स्थानीय बासिन्दाहरुले नेताहरुबाट निर्माणको आश्वासन मात्रै पाएको तर पुल नबनेका कारण जोखिम मोलेर ढुंगाको सहाराले नदी तर्नुपरेको गुनासो गरेका छन ।

२०६८ सालमा निर्माण व्यवसायी कम्पनी पप्पु कन्स्ट्रक्सनले तीन वर्ष ६ महिनामा कमला नदीमा पुल बनाइसक्ने सम्झौता गरेको थियो । सम्झौता गरेको १२ वर्षपछि बल्ल पुल निर्माण गरिएको भएपनि संचालनमा नआई बाढीका कारण पुलको तीनवटा पाया भासियो । त्यसपछि पुल पुरानै अवस्थामा फर्कियो । पुल बनाउन दवावका लागि सिरहा र धनुषाका स्थानीय संलग्न भएर पुल निर्माण संघर्ष समिति गठन गरी दवाव दिइरहेका छन ।

सो समितिका सदस्यहरु मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा आमरण अनसनमा बसेपछि मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ पुल बनाउने प्रक्रिया मंसिर एक गतेभित्र गरिसक्ने सहमति गर्नुभयो । तर सो सहमति बमोजिम हालसम्म कुनै प्रकृया अगाडि नबढाएको संघर्ष समितिका संयोजक प्रविण कुमार मोरवैताको आरोप छ । 

पुल निर्माण संघर्ष समितिसँग भएको सहमती पूरा नभए पुनः आन्दोलनमा उत्रिने सिरहा नगरपालिकाका वडा नं। ६ का वडा अध्यक्ष इन्द्रजित यादवले चेतावनी दिनुभएको छ । 

कमला नदीमा दैनिकजसो तीन हजारको हाराहारीमा मानिसहरु ढुंगाको सहाराबाट जोखिमपूर्ण यात्रा गर्ने गरेका छन ।