सिरहा,कार्तिक ११ गते । नेकमा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले अहिलेको सरकार भ्रष्ट र भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने सरकार भएको आरोप लगाउनुभयो ।
आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ ले आयोजना गरेको दीपावली तथा तठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै सो कुरा उहाँले वताउनुभयो ।
एमाले र नेपाली कांग्रेसको अहिलेको सरकार विशुद्ध रुपमा भ्रष्टाचारी र भ्रष्टाचारीहरुलाई पक्षपोषण गर्ने सरकार भएकाले जनभावना अनुसारको काम गर्न नसकिने वताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकार बनेको तीन महिनामै अर्बौको ऋण थोपरेर प्रत्येक नेपालीको टाउँकामा थप ऋण व्ययभार थपेको टिप्पणी गर्दै यो सरकारबाट देशको सुशासन र समृद्ध देश बनाउँछ भन्ने कल्पना नगर्न सबैमा आग्रह समेत गर्नुभयो ।
तत्कालीन माओवादीको सरकारले भ्रष्टाचारीहरुलाई खोजी खोजी कार्वाही गर्न थालेपछि सत्ता गठबन्धनमा सामेल भएका नेपाली कांग्रेसका आरजु देउवा लगायतका ठूलठूला नेताहरु भ्रष्टाचारमा फस्ने डरले नेपाली कांग्रेसले माओवादीसँगको सरकार गठबन्धनबाट अलग्गिएर एमालेसँग गठ जोर गरी रातारात सरकार गिराउने र बनाउने खेलमा लाग्नुभएकोले अब सबै नेपालीले अहिलेको भ्रष्ट सरकार विरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प नरहेको वताउनुभयो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले हालका नगर प्रमुख शिवशंकर महतो भ्रष्टाचारमा लिप्त रहेकाले नगरपालिको विकास, समुद्धि र सुशासन कायम गर्छ भन्ने कुरा नगरवासीले नसोचे पनि हुन्छ उहाँले नगरपालिकामा आएको बजेटलाई संचालन गर्न नसक्ने असक्षम नगर प्रमुख भएको आरोप समेत लगाउनुभयो ।
पूर्व नगरप्रमुख चौधरीले विगतको पाठ सिक्दै सबै पार्टी भित्रका पुरानो तितामिठा बिर्सेर एक ढिक्का भई सबै वडादेखि नगरसम्म आफ्नो सरकार बनाउने दिसामा पार्टीका सबै नेता तथा कार्यकर्तालाई केन्द्रित हुन आग्रह समेत गर्नुभयो ।
त्यसबेला पार्टीमा नव प्रवेशी मनोज कुमार महतो र राम केवल महतोलाई कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य क. विश्वनाथ साह र क.केन्द्रीय सदस्य तथा पूर्व मेयर क. हरि नारायण चौधरीले स्वागत गर्नुभएको थियो । वडा नं.४ को वडा समितिका अध्यक्ष कृत लाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर समितिका अध्यक्ष तथा वडा अध्यक्ष प्रकाश योन्जन, उपाध्यक्ष बुद्धिलाल चौधरी, सचिव तथा वडा अध्यक्ष वीरेन्द्र कुमार साह, वडा अध्यक्ष सूर्यमान तामांग लगायतको उपस्थिति रहेको थियो ।