सिरहा,कार्तिक ८ गते । तराई मधेशमा बसोबास गर्ने सीमान्तकृत कुम्हाले समुदायहरुलाई चाड पर्व नजिकिएसँगै माटोका सामाग्रीहरु बनाउन चटारो परेको छ । 

बजारमा तामा, स्टील अल्मुनियम लगायतका सामाग्रीहरुले बजार पाएपछि अन्य समयमा फुर्सितला जस्तै देखिने कुम्हालेहरुलाई विशेष गरी तिहार र छठ पर्व नजिकिएसँगै माटोले बनेको विभिन्न प्रकारका माटोका सामाग्रीको माग हुने भएपछि कुम्हालेहरुलाई माटाका सामाग्री बनाउन चटारो परेको हो । 

सिरहाको लहान, कसहा, सिरहा लगायत ठाउँमा बसोबास गर्ने कुम्हालेको सबैजसो घरमा अहिले माटोबाट बन्ने सामाग्री बनाउनमा व्यस्त रहेका देखिन्छन् । चाडवाडको बेला उक्त सामाग्रीहरुको बिक्रीबाट वर्षभरीको गर्जो टार्ने वाध्यताको कारण पनि अन्य समयको तुलनामा चाडवाडको बेला माटोका सामाग्री बनाउन लागि परेको उनीहरु वताउँछन् । 

लागत अनुसारको आम्दानी भए पनि माटोले बनाएको सामाग्रीको माग बजारमा कम भए पछि अधिकांश युवाहरु विदेशिएका छन् । गाउँघरमा रहेकाहरुलाई आफ्नो आवश्यकता परिपुर्ति गर्नुपर्ने वाध्यतासँगै पुख्र्यौली पेशालाई जगेर्ना गर्नको लागि भए पनि यो कामलाई निरन्तरता दिइएको उनीहरुको भनाइ रहेको छ ।