सिरहा,असोज ३० गते । सिरहाको लहानस्थित निर्माणाधिन मालपोत कार्यालय नौ वर्ष वितिसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन । निर्माण कार्य सम्पन्न नहुँदा कार्यालय र सेवाग्राहीलाई त मार परिरहेको छ नै राजश्वको रकम पनि घर भाडामा मासिक साठी हजार बढी स्वाहा भइरहेको छ ।
निर्माण कम्पनीको ढिलासुस्ती र सघन शहरी विकास कार्यालयको उदासिनताको कारण २०७२ साल असार ५ गते दुई करोड ९१ लाख ८७ हजारमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भए पनि २०८१ असोजसम्म पनि निर्माण कार्य सम्पन्न हुने छाटकाट देखिएको छैन ।
घर निर्माणमा चरम ढिलाईका कारण भाडाको घरमा मालपोत कार्यालय संचालन भइरहेकाले सिरहाको नौ वटा स्थानीय तहको सेवाग्राहीहरुलाई त मार परिरहेको छ नै दैनिकी हुने मोठ, तामेलीको कागजातसमेत राख्न सकस भइरहेको मालपोत कार्यालय लहानका निमित्त प्रमुख दिपेन्द्र नारायण चौधरीले वताउनुभयो ।

आर्थिक वर्ष ०८०–८१ मा लहान मालपोतबाट जग्गा रजिस्ट्रेसन, लाभकर, अन्य प्रशासनिक सेवा शुल्क गरी २७ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । यतिका ठूलो राजश्व रकम संकलन गर्ने कार्यालयको भवन निर्माणमा सम्बन्धित निकायको ध्यान नजानु दुःखद् भएको स्थानीयको आरोप छ ।





















