सिरहा,असोज ८ गते । सन्तानको दिर्घायु, पारिवारिक समृद्धि र सुख शान्तिको कामना गर्दै तराई मधेश मनाईने जितिया पर्व आजदेखि शुरु भएको छ ।
जितिया पर्वको आज पहिलो दिन ‘नहा खाय’ दिन भएकाले आज विहानैदेखि सिरहाका नदी तलाउ पोखरीमा नुहाउने महिलाहरुको भीड लागेको छ ।
महिलाहरुले नजिकैका नदी र पोखरीमा स्नान गरीे घिरौलाको पातमा घिरौलाको फूल,पिना, तेल र माटो राखेर भगवान जीतुवाहन पुजा आजा गर्दै पर्व मनाई रहेका छन् ।
विषेशतः तराईका थारु महिलाहरुले मनाउने यो पर्व पछिल्लो केही वर्षदेखि सबै समुदायका महिला दिदीवहिनीहरुले मनाउने गरिएको छ ।
यसपल्ट तिथिी घटबढका कारण सिरहा सप्तरी,धनुषा र महोत्तरी लगायत अन्य जिल्लामा मिथीला पंचाङ्गका अनुसार हिजो देखिनै कतिपय महिलाहरुले जितीया मनाई रहेका छन् भने नेपाल पंचाङ्ग अनुसार आजबाट सुरु भएका छन् ।
तीन दिनसम्म मनाइने यो पर्व “राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै जनालाई दैत्यबाट फिर्ता ल्याइदिएको जनविश्वाससहित महिलाले शालि वहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेका पौराणिक कथन रहेको छ ।