सिरहा,असोज ७ गते । मधेश प्रदेशका मुख्य मन्त्री सतिष कुमार सिंहले व्यापार समिति उद्योगी व्यापारीहरुको संस्था भएकोले व्यापारीहरु पनि पार्टीगत स्वार्थ भन्दा माथि उठेर व्यापारीहरुको हक अधिकार एवम् समस्या समाधान गर्ने खालको नेतृत्व सुखीपुर उद्योग व्यापार समितिले पाउनुपर्ने वताउनुभयो ।
प्रचण्ड गर्मीका बीच आज सिरहाको सुखीपुरमा आयोजित सुखीपुर उद्योग व्यापार समितिको पाँचौ साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री सिंले वन्द सत्रले चुनिने नयाँ कार्य समिति सकेसम्म सर्वसम्मती ढंगले ल्याउन आग्रह गर्नुहुँदै त्यसो नभएमा लोकतान्त्रिक पद्धतिमा आउने नेतृत्व व्यापारीहरुको पीर मर्का सुन्ने र समस्या समाधान गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्य मन्त्री सिंहले सुखीपुर कृषिको लागि अर्बर भूमि भएकाले सुखीपुर नगरपालिका वडा नं. ४, ६, ८ र १० नं. वडाका किसानहरुको सिंचाई सुविधाका लागि एडीबीको सहयोगमा गागन सिंचाई परियोजनाका लागि २९ करोड ५८ लाखको टेण्डर भइसकेकोले परियोजना सम्पन्न भएपछि यस भेगका किसानहरु लाभान्वित हुने वताउनुभयो ।
कार्यक्रममा राजनीतिक दलका जन प्रतिनिधि, उद्योगी व्यापारी, समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले गर्नुभएको थियो भने संचालन रेडियोक्रमी अनुपमा झाले गरेकी थिइन् ।
त्यसबेला सुखीपुर उद्योग व्यापार समिति हाताभित्र नव निर्मित कभर्ड हलको उद्घाटन सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव र सुखीपुर उद्योग व्यापार समितिको दोस्रो तल्लाको उद्घाटन सुखीपुर उद्योग व्यापार समितिका वर्तमान अध्यक्ष शत्रुधन प्रसाद चौधरीले गर्नुभएको थियो ।
सुखीपुर उद्योग व्यापार समितिमा करिव करिव एक हजार चार सयको हाराहारीमा सदस्य रहेका छन् । व्यापार समिति सुखीपुरमा अगामी नेतृत्वको लागि सुरज यादव र विजय कुमार गुप्ता प्रतिस्पर्धा गर्दैछन् । आज अपरान्ह पाँच बजेपछि बन्द सत्र शुरु हुने जनाइएको छ ।