सिरहा,असोज २ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित श्री जनता माध्यमिक विद्यालय तिनकोनीको सभाहलमा ग्रामीण जागरण समाजले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षाप्रति देखिएको उदासिनताप्रति सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।
अन्तक्र्रिया कार्यक्रममा आयोजक संस्थाका संरक्षक एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले तीन तहकै सरकारलाई मा.वि.तहसम्मको शिक्षालाई अनिवार्य एवम् निःशुल्क गर्ने अधिकार दिएपनि सरोकारवाला निकायको उदासिनताको कारण शैक्षिक गतिविधि बढ्नुको साटो शैक्षिक वेथिति बढ्दै गएको उल्लेख गर्नुभयो ।
उहाँले आठ कक्षासम्मको शैक्षिक गतिविधिको अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गर्नुहुँदै नगर क्षेत्रभित्रको शैक्षिक गुणस्तरीयता कायम गर्न नगरपालिकाले अग्रसर लिए आफूहरु भोलिन्टियर ढंगले शिक्षा क्षेत्रको गतिविधिमा लाग्ने शंकल्प गर्नुभयो ।
नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजानको लागि अभियानात्मक ढंगले सबै सरोकारवाला निकाय लाग्नुपर्ने वताउनुहुँदै थुप्रै बलिदानी पश्चात नेपालको मौलिक हकको रुपमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गते भएकोले यो दिनलाई उत्सवको रुपमा लिन पनि सबैलाई पूर्व नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले शैक्षिक गुणस्तरीयता कायम गर्न एक्लै प्रयासले सम्भव नभएकोले शैक्षिक गुणस्तरीयता कायम गर्न सबैको सहयोगको खाचो रहेको औंल्याउनुहुँदै त्यसो गरे पाँच वर्षभित्रमा नगर क्षेत्रभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तरीयतामा बढोत्तरी हुने वताउनुभयो ।
ग्रामीण जागरण समाजका अध्यक्ष प्रकाश खड्काको अध्यक्षता, महेश मण्डलको संचालन एवम् संस्थाका कार्यक्रम संयोजक नवराज लामाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो, पूर्व नगर प्रमुख हरिनारायण चौधरी, वडा नं. ९ का वडा अध्यक्ष प्रकाश योन्जन, वडा नं. १३ का सूर्यमान तामांंग, वडा नं. ३ का विरेन्द्र साह, वडा नं. ४ का अध्यक्ष ओम प्रकाश यादव लगायत कार्यपालिकाका सदस्य लगायत नगरपालिकाभित्र रहेका संस्थागत एवम् सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिनिधि, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघ संस्था लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।