सिरहा १० जेठ । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित आस्था र पवित्रताको प्रतिकको रुपमा रहेको राजदेवी मन्दिरमा भक्तजनहरुको आज विहानैदेखि घुइँचो लागेको छ ।
भाकल गरे मनोकामना पूरा हुने जनविश्वासको कारण देश विदेशबाट आजका दिन राजदेवी मन्दिरमा भाकल गरे अनुसारको पशुपक्षीको बलि चढाउन असंख्य रुपमा भक्तजनहरु ओइरिएका हुन् ।
राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरेपछि सन्तान प्राप्ति, रोग व्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।
लहान बजारबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने राजदेवी मन्दिर बाराको गढिमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा पशु बलि दिने मन्दिरको रुपमा लिने गरेको मेला समितिका सचिव विरेन्द्र चौधरीले वताउनुभयो ।
करिव ३० हजारको हाराहारीमा पशु बलिले मन्दिर परिसर रक्ताम्मे बने पनि दुर्गन्ध पनि नआउने, झिंगा पनि नलाग्नेले यसलाई राजदेवीको शक्तिको रुपमा लिइएको स्थानीयले जनाएको छ ।



















