जनकपुर,चैत १५ गते  । दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले भूमि आयोग जिल्ला समिति धनुषा र नापी कार्यालय धनुषाको समन्वयमा जग्गाधनी लालपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँच सुरु गरेको हो। 

गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख तेजनारायण यादवले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँचको काम गत हप्तादेखि सुरु गरिएको बताउनुभयो। उहाँले जग्गा नापजाँचको कार्यले पाँच दशक अघिदेखिको जग्गासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। 

नगरप्रमुख यादवले भन्नुभयो, “वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाउछौँ। कार्यविधिअनुसार नै सबै काम अगाडि बढाइएको छ। जसको अधिकार क्षेत्रभित्र जग्गा छ त्यसैले पाउँछ।”नगरपालिकाको भूमि आयोग सेवा केन्द्रका प्रमुख रामईश्वर यादवले यस नगरपालिकामा तीन हजार छ सयको हाराहारीमा दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको बताउनुभयो। उहाँले जग्गा नापजाँच गर्नुअघि दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी कम्प्युटरमा प्रविष्ट गरिएको जानकारी दिनुभयो। 

यो नगरपालिकाको वडा नं। १ तिन तलेबाट जग्गा नाप जाँचको काम सुरु गरिएको बताउँदै केन्द्रका प्रमुख यादवले वडामा ७३१ जना दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको बताउनुभयो। जग्गा नापजाँचका लागि आफ्नो नेतृत्वमा छ जना प्राविधिक खटिएका छन्। अमिन तथा प्राविधिक खटाउन पहल भइरहेको बताउँदै उहाँले नापजाँचको काममा स्थानीयले सहयोग पु(याइरहेको बताउनुभयो।  

भूमि आयोग जिल्ला समिति धनुषाका अध्यक्ष सुरेशकुमार कार्कीले जग्गासँग जनताको आवश्यकता र हक जोडिएकाले कुनै त्रुटी नगरी सबैले जग्गाको स्वामित्व पाउने गरी जग्गा नापजाँच गरेर जग्गा धनीपुर्जा वितरण गरिने बताउनुभयो। सक्दो सहयोग गरिरहेको बताउँदै उहाँले लालपुर्जा पाइसकेपछि सुकुम्बासी तथा अव्यवस्थित बसोबासी वास्तविक रूपमा जग्गाको मालिक बन्ने जानकारी दिनुभयो। 

नगरपालिकाले भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउन जग्गा नापजाँच सुरु गरेपछि स्थानीयवासी खुसी देखिएका छन्। तीन तलेका खिलविक्रम ढुङ्गेलले घर बसोबास तथा भोगचलन गर्न थालेको ६० वर्षपछि यहाँ लालपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँच भइरहेकाले निकै खुसी लागेको बताउनुभयो।