सिरहा,कार्तिक ३ गते । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले दुईरदुई वर्षमा विश्वकप आयोजना गर्दा केही सुपर क्लबले मात्र आर्थिक उपार्जन गर्ने होडबाजी तोडिने बताएका छन्।  

अध्यक्ष इन्फान्टिनोले दुईरदुई वर्षमा विश्वकप आयोजना गर्दा विश्वमा फुटबलको चर्चा रहिरहने र केही चर्चित क्लबले गर्ने आर्थिक उपार्जन तोडिने बताएका हुन्। 

एक वर्ष पुरुष र एक वर्ष महिलाको प्रतियोगिता आयोजना गर्दा सधैं फुटबलको चर्चा रहिरहने भन्दै अध्यक्ष इन्फान्टिनोले विवादास्पद योजनाको प्रस्ताव ल्याएका हुन्। उनको योजनालाई विभिन्न क्लब र खेलाडीसमेतले खरो रूपमा आलोचना गरिरहेका छन्।  

‘अहिलेको समयमा विश्वका विभिन्न स्थानमा धेरै किसिमका फुटबल प्रतियोगिता हुँदै गरेका छन्। त्यस्ता प्रतियोगिताले विश्वकपमा भन्दा धेरै आर्थिक उपार्जन गर्न थालेका छन्। यस्तो पैसा केही क्लबमा मात्र पुग्ने गरेको छ,’ ब्युनस आयर्समा भएको पत्रकार सम्मेलनमा इन्फान्टिनोले भने, ‘यदि विश्वकप प्रत्येक दुई वर्ष हुने गरी पाँच राष्ट्रलाई संयुक्त आयोजनाको जिम्मा दिने हो २० वर्षमा १ सय देशको फुटबल माथि उठ्न सक्छ। फुटबलमा राम्रो विकास हुन्छ ।’

अध्यक्ष इन्फान्टिनोले संयुक्त देशले विश्वकप आयोजना गर्दा फुटबल झन् बलियो हुने भन्दै अर्को विषयलाई पनि उठाएका हुन्। सोही क्रममा पाँच देशमा सुरुआत गरे केही वर्षमा सबै देशले मौका पाउने र फुटबल माथि उठ्ने उनले प्रस्ट्याएका हुन्।  

पछिल्लो समय विश्वकप विरलै मात्र संयुक्त रूपमा आयोजना हुँदै आएको छ। एक देशले मात्र विश्वकपको आयोजना गरेका छन्। २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता अहिलेसम्म संयुक्त रूपमा आयोजना हुन सकेको छैन। तर २०२६ को विश्वकप भने तीन राष्ट्र क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले गर्ने योजना छ। यस्तै २०२३ मा महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्दै छन्।  

हरेक दुई वर्षमा आयोजना गर्ने प्रस्तावको सर्वत्र आलोचना भइरहँदा आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले भने त्यसको समर्थन गरेका छन् ।

यद्यपि अध्यक्ष इन्फान्टिनोले प्रस्ताव गरेको योजना अहिलेको अवस्थामा ठीक नभएको भन्दै आलोचना भइरहेको भए पनि डिसेम्बरको अन्तिम मात्र निर्णय हुने बताएका छन्।  

‘अहिले यो प्रस्ताव राख्दा कोही पनि खुसी छैनन्। अहिलेको कोरोनाको महामारीको अवस्था सहज नभए पनि केही बुँदाहरू परिमार्जन गर्नुपर्नेछ,’ इन्फान्टिनोले थपे।  

यस्तै विभिन्न समयमा फुटबलको नेतृत्व सम्हालेका केही पूर्वपदाधिकारीहरूले पनि दुई दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् भने विभिन्न महादेशका खेलाडीले पनि कडा रूपमा कटाक्ष गरेका छन्। नागरिक न्युजबाट साभार