सप्तरी,  २६ असाेज । दलित अधिकार आन्दोलनका अभियन्ता, लेखक तथा त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागका सेवानिवृत्त प्राध्यापक वसन्तकुमार विश्वकर्माको निधन भएको छ। उहाँको ७९ बर्षकाे उमेरमा सप्तरीकाे रुपनी गाउँपालिकाकाे तेरहाैतास्थित आफ्नै निवासमा निधन भएको हो। लामो समयदेखि अशक्त रहनुभएका विश्वकर्माकाे आफ्नै निवासमा उपचारको क्रममा निधन भएकाे परिवारजनले बताएकाे छ ।

नेपालको दलित आन्दोलनमा सक्रिय बौद्धिक व्यक्तित्व रहनु भएका उहाँ विश्वविद्यालयमा प्राध्यापन गर्नुका साथै दलित समुदायको सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक अवस्थाबारे अध्ययन, लेखन र नीतिगत बहसमा योगदान पुर्‍याउनुभएको थियो।उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उहाँका जेठा ज्वाइँ विनोदकुमार विश्वकर्माले पनि उहाँकै शैक्षिक तथा सामाजिक बाटो पछ्याउनुभएको छ। विनोदकुमार त्रिभुवन विश्वविद्यालयमा हिन्दी विषय अध्यापन गर्नुहुन्छ र नेपालको दलित आन्दोलनमा समेत सक्रिय हुनुहुन्छ। सप्तरीको तेरहौतामा जन्मनुभएका विश्वकर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको थियो। उहाँले त्रिभुवन विश्वविद्यालयको हिन्दी केन्द्रीय विभागमा प्राध्यापन गर्नुभयो। उहाँ विश्वविद्यालयको हिन्दी विषय समिति तथा हिन्दी विषय स्थायी समितिमा समेत सदस्य रहनुभएको थियो।

उहाँले लहान क्याम्पसमा संस्थापक सहायक प्राध्यापकका रूपमा काम गर्नुभएको थियो। त्यसअघि रामेछाप र सिन्धुलीमा सहायक जिल्ला शिक्षा अधिकारीका रूपमा सेवा गर्नुभयो। उहाँले केन्द्रीय तथ्यांक विभागअन्तर्गत जिल्ला कृषि गणना अधिकारी, खानी तथा भूगर्भ विभागमा वरिष्ठ क्षेत्र सहायक तथा सप्तरीका विद्यालयमा शिक्षकका रूपमा समेत काम गर्नुभएको थियो।