सिरह,मंसिर १७ गते । सिरहामा मदिरा तस्करद्वारा आइतबार बिहान गाडीले किचेर मारिएका सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको हत्या प्रकरणमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई आइतबार नै नियन्त्रणमा लिइएको र उनीहरुसँग आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए ।
यस घटनामा प्रयोग भएको गाडी र संलग्न व्यक्तिहरुको पहिचान पनि लगभग भइसकेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए। ‘हामीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले कान्तिपुरसित भने, ‘गाडी र संलग्न व्यक्तिको पहिचान पनि करिबकरिब भइसक्यो ।’
अब प्रहरीले उक्त गाडी र पहिचान भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिने उनले जनाए । नेपाल भारत सीमाक्षेत्र बडहरीस्थित बेस क्याम्पमा कार्यरत यादवको ड्युटीमा खटिएका बेला आइतबार बिहान ३ बजे बरियारपट्टी गाउँपालिका(१ स्थित कचनारीमा हत्या भएको थियो । नेपालबाट भारततर्फ मदिरा लोड गरी जाँदै गरेको स्कोरपियोलाई रोक्न खोज्दा मदिरा तस्करले उनको ज्यानमाथि नै स्कोरपियो चढाउँदै फरार भएका थिए । यादवको लहानस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरी आइतबारै साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको छ ।