सप्तरी, १४ असार । हरवा चरवा परिवारलाई लक्षित गरी सप्तरीको बिभिन्न पालिकामा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम प्रभाबकारी बनेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । 

जिल्ला अग्निसाइर कृष्णासबरण गाउँपालिकास्थित महुलीमा आयोजित मुक्त हरवा चरवा कार्यक्रमको समिक्षा बैठकमा सहभागी बक्ताहरुले कार्यक्रमबाट हरवा चरवा परिवारका बालबालिकाहरु शिक्षातर्फ आकर्षित भएको र महिलाहरु आत्मनिर्भर बन्न थालेको बताएका छन् । 

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बर्साइन नगरपालिका र रुपनी गाउँपालिकामा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सो कार्यक्रमले हरवा चरवा भुमिहिन दलित समुदायको चेतनाको स्तर बृद्धि हुनुको साथै राज्यबाट प्राप्त हुने सेवा सुबिधामा बिस्तारै पहुँच बढ्दै गएको बताउँदै बक्ताहरुले यसलाई अन्य पालिकाहरुमा बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भुकुमार यादवले हरवा चरवाहरुको समस्या समाधानका लागि तीन वटै सरकारले ठोस योजना बनाउनुपर्ने बताउनुभयो । सरकारले हरवा चरवा मुक्तिको घोषणा गरेपनि पुर्नस्थापनाको ठोस योजना आउन नसकेको बताउनुहुँदै उहाँले तीन तहका सरकारले हरवा चरवालाई लक्षित गरेर योजना कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष  चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा हरवा चरवा महासंघका केन्द्रीय महासचिव लागेन्द्र सदा, रुपनी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष छेदी इसर,  गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष बलदेव मण्डल लगायतले बोल्नुभयो । 

मुक्त हरवा चरवा कार्यक्रमका कार्यक्रम संयोजक मनोजकुमार गौतमद्वारा सञ्चालित कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टिम लिडर बिनोदानन्द चौधरीले संस्थाद्वारा सञ्चालित कार्यक्रमका गतिबिधि तथा उपलब्धी बारे प्रस्तुती गर्नुभएको थियो ।