सिरहा,चैत्र २३ गते । जिल्लाको पहाडी खोचमा रहेको एक पालिकाले जनप्रतिनिधि र कर्मचारीको इन्धनमा एक वर्षमा ४३ लाख खर्च गरेको खुलासा भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका कार्यालयले एक वर्षमै इन्धनमा झण्डै ४३ लाख रुपैयाँ खर्च गरेको हो । आर्थिक वर्ष २०७९र०८० मा गाउँपालिका कार्यालयले ४२ लाख ८८ हजार २२ रुपैयाँ खर्च गरेको जनाएको छ ।

इन्धन खर्चको विषयमा प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले कानुनबमोजिम नै इन्धन उपलब्ध गराएको दाबी गरे । तर, पालिकाका एक कर्मचारीकाले पालिका अध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनपरी आसेपासेलाई इन्धन बाँड्दा त्यसमा ठूलो रकम खर्च भएको दाबी छ ।

अर्को कारण गाउँपालिका कार्यालयले झण्डै दुईवर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको लागि चारचक्के गाडी भाडामा लिँदा पनि इन्धन खर्च बढेको ती कर्मचारीको भनाइ छ । बटेश्वर गाउँपालिकामा कांग्रेसका रामअशिष महतो पालिका अध्यक्ष छन् । त्यस अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा इन्धनमा २७ लाख २९ हजार २४९ रुपैयाँ खर्च भएको थियो ।