सिरहा,चैत्र १५ गते । रौतहटजिल्लाको वृन्दावन नगरपालिका(१ भोटियाटोलमा बुधबार दिउँसो साढे चार बजेतिर घाँटी रेटिएको अवस्थामा स्थानीयले तीर्थ वाइबालाई छटपटिइरहेको देखेपछि तत्काल प्रहरीमा खबर गरेका थियो । वृन्दावन नगरपालिका(१ भोटियाटोलका ३७ वर्षीय वाइबाले घर नजिकै रहेको मकैबारीमा आफ्नी श्रीमतीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको र आफ्नो पनि घाँटी रेटेर आत्महत्या गर्न खोजेको स्थानीयलाई गम्भीर अवस्थामै सुनाए ।

उनलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पतालमा पुर्‍याइएको र उनको अवस्था हाल गम्भीर रहेको प्रहरीले जनाएको छ।श्रीमान् र श्रीमतीबिचको आपसी विवादको कारण घटना भएको प्रारम्भिक अनुमान रहेको छ । घटनाबारे जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले मकैबारीमा खोज्दै जाँदा वाइबाकी श्रीमती करिब ३५ वर्षकी सेतीमाया तामाङको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो। घटनास्थलमा दुई ओटा धारिलो हँसियासमेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ तथा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनाल पुगेर अनुसन्धान गरिरहेका छन्। घटनाबारे थप जानकारी आउन बाँकी छ ।