सिरहा,फागुन १ गते । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताउनुभएको छ । मङ्गलबारबाट काठमाडौंमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो, क्रान्तिकारी नेपाली जनताले यसलाई मनाउँछन् । मनाइरहेका छन् । आज हामी त्यसकारणले पनि मनाइरहेका छौँ । कुनै सन्दर्भ फेरि शान्ति प्रक्रियालाई पार गरिसकेपछि अदालतले जे सङ्केत गरेको छ, त्यसअनुसार फेरि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति पनि आउन सक्छ ।’’

उहाँले यस वर्षका लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताउनु भयो । ‘‘यस वर्षका लागि पनि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो  र राजपत्रमा पनि प्रकाशित भइसकेको थियो । तर अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गरिदियो । त्यो अदालतको कार्यक्षेत्रको विषय हो की होइन, अर्कै वहस छ ।

तर हाम्रो सरकार अहिले शान्तिपूर्ण कार्यदिशाको प्रक्रियामार्फत अघि बढेको सरकार हो ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसकारण अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य ठान्दछौँ । त्यसैले अदालतको यो निर्णयलाई स्वीकार गर्दै मन्त्रिपरिाषद् बैठकले फेरि अहिले हामीले घोषणा गरिसकेको बिदालाई अदालतको निर्णयअनुसार दिन नमिल्ने भएको कारणले त्यसलाई हामीले सूचना प्रकाशित गरेर बिदा रहेन भन्नुपरेको स्थिति आएको सबैलाई ज्ञात नै छ ।’’

उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति आउन सक्ने बताउनु भयो । साथै उहाँले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरुको प्रमुख कार्यभार रहेको बताउनु भयो ।