सिरहा,माघ २३ गते – वसन्त पञ्चमीका दिन मनाइने सरस्वती पूजा यस पटक दुई दिन मनाइने भएको छ ।

खास गरी विद्यार्थी, शिक्षकहरुले आस्थापूर्वक मनाउने यस वर्षको सरस्वती पूजा मधेश प्रदेशको विभिन्न जिल्लामा कतिपय ठाउँमा शनिबार मनाइएको छ भने कतिपय स्थानमा आइतबार मनाइने भएको छ । सरकारी र मिथिला क्यालेन्डरले सरस्वती पूजाको फरकरफरक तिथि देखाएपछि अलमलमा परेका कतिपयले शनिबार नै पूजा सम्पन्न गरेका छन् भने कतिपयले आइतबार गर्ने बताएका छन् । प्रदेशको राजधानी जनकपुरधाम सहित आसपासको क्षेत्रमा ठाउँ–ठाउँमा सरस्वती माताको प्रतिमा राखेर पूजा गरिंदै देखिएको छ भने कतिपय भक्तजनहरु आइतबारको लागि पूजा मनाउने तयारीमै व्यस्त देखिएका छन् । बिहिबार रातीदेखिको लगातारको वर्षाले गर्दा समेत शनिबारको पूजा प्रभावित भएर दुई दिन सम्म मनाउने अवस्था आएको आयोजकहरुले बताएका छन् । सामान्यतया पूजाको बिहानैदेखि रौनक शनिबारको वर्षाले प्रभावित भएको थियो । हावाहुरी तथा वर्षाले सजाइएका टेण्टहरुलाई प्रभावित गरेको थियो तर दिउंसो १ बजेपछि राजधानी जनकपुरधाम लगायतका विभिन्न जिल्लाका गाउं शहरमा भने विद्यार्थी,अभिभावक तथा खास गरी बालबालिकाहरुको अत्याधिक चहल पहल देखिएको थियो ।

प्रत्येक वर्ष वसन्तपञ्चमीको दिन विद्याकी देवी माता सरस्वतीको विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ । सरस्वती पूजाको अवसरमा हिन्दु धर्मावलम्बीहरु मात्र नभइ मुस्लिम धर्मावलम्बी बिद्यार्थीहरुले समेत आजको दिन विशेष रुपमा सरस्वती पूजा गर्ने गरेका छन् । पूजामा खास गरेर बयर, केसोर, गाजर, सुन्तला, स्याउ, बुनिया लगायतका प्रसाद सामग्रीहरु सरस्वतीलाई चढाइने गरिएको छ । श्रीमद भागवत गीताका अनुसार भगवान श्री कृष्णको जिब्रो अग्रभागबाट माता सरस्वतीको उत्पति भएको थियो । सरस्वतीको सेतो वर्ण ज्योतिमय ब्रह्माको प्रतीक पनि मानिन्छ । सरस्वतीको आर्शिवाद बिना यो विद्या प्राप्त गर्न सकिंदैन भन्ने विश्वास रहि आएको छ । यही विश्वासका साथ प्रत्येक वर्ष विद्याकी देवी सरस्वतीलाई श्री पञ्चमीको दिन विद्यार्थीले माता सरस्वतीको रुपमा पूजाअर्चना गर्ने परम्परा छ