काठमाडौँ ,असोज ३० गते ।  इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ संस्करणको उपाधी चेन्नई सुपर किंग्सले जितेको छ । शुक्रबार राती कोलकत्ता नाइटराईडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथो पटक आईपीएलको उपाधी हात पारेको हो ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनायो । १९३ रनको चुनौति पच्छ्याउँदै मैदानमा उत्रिएको कोलकत्ता २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनमै समेटियो ।कोलकत्ताको ओपिनिङ राम्रो रहेको थियो । पहिलो विकेटका लागि बैंकटेस ऐय्यर र सुभमन गिलले ९१ रनको साझेदारी गरे । सोक्रममा ऐय्यरले ३२ बलमा ५ चौका र ३ छक्कसहित ५० रन तथा गिलले ४३ बलमा ६ चौकासहित ५१ रन बनाए । तर, त्यसपछिका ब्याटरले रन जोड्न सकेनन् । शुभम माभीले २० तथा लुकी फ्रग्सनले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

चेन्नईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । उनले ११ औँ ओभरमा बैंकटेस ऐय्यर र नितीश रानाको विकेट लिए पछि खेललाई परिवर्तन गरेको थिए । यस्तै जोश हज्लेउड र रवीन्द्र जडेजाले २–२ विकेट सलए भने दीपक चहार र डायन ब्राभोका नाममा १–१ विकेट रह्यो ।