kojagra photo

सिरहा,असोज ३० गते । दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने भोलि परेको छ । असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै बडादशैँ समापन हुन्छ । विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आज समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

kogara photo

आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएको हो । माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ ।kogara photo two