निजी अस्पताल कि पैसा असुली अड्डा ?

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 25, 2078
  • 178 पटक पढिएको

रातको ९ बजे अस्पतालकी कर्मचारीले भनिन्, ‘एक लाख ल्याउनुस्’ 

त्रिभुवन विश्वविद्यालयको प्राध्यापनबाट सेवा निवृत्त भए पनि आफ्नो लेखन, सम्पादन, शैक्षिक तथा सामाजिक कार्य आदिबाट उहाँ निवृत्त पटक्कै हुनुभएको थिएन । दैनिक तेह्र चौध घन्टा उहाँ लेखनकार्यमा नै व्यस्त रहनुहुन्थ्यो । थकानको अनुभव उहाँलाई पटक्कै थिएन । 

 

गएको वैशाख १४ गतेदेखि एक्कासि दिसा नआउने कब्जियतको समस्या देखियो, जो कोरोनाको लक्षण हो भन्ने अनुमान कसैलाई भएन । यो क्रम दुइ दिन दोहोरिएपछि वैशाख १५ गते अपराह्न एक्कासि ज्वरो आएको अनुभव गरी सुत्नुभयो र केही सिटामोललगायत घरेलु औषघि लिएपछि केही सन्चो अनुभव भएको थियो, तर त्यसको भोलिपल्ट त्यही नियति दोहोरिएपछि केही शंका उत्पन्न भयो र भोलिपल्ट पिसिआरका लागि स्वाब संकलन गराइयो र त्यसको ७ घन्टापछि रिपोर्ट पोजेटिभ आयो । मेरा बुबा प्रा.राजेन्द्र सुवेदीको कोरोना कथा हो यो । 

 

रिपोर्ट पोजेटिभ आएपछि पनि खासै ठूलो पीडा र कमजोरीको अनुभव भएको थिएन । आमाको कमजोर स्वास्थ्य प्रेसर, मधुमेह तथा थाइराइडजस्ता दीर्घरोगका कारण घरमा भन्दा अस्पतालमा रहँदा नै परिवारका अन्य सदस्यहरू सुरक्षित रहने ठानी अस्पतालमा नै राख्ने कुरामा परिवार एकमत भयो र अस्पतालहरूको खोजी फोनबाट सुरु भयो । निकै लामो कसरतपछि कोरोनाबाट पीडित रोगीहरूका लागि बेड पाइयो काठमाडौंको एक नाम चलेको निजी अस्पतालमा । अब त्यहाँसम्म लान एम्बुलेन्सको खोजी भयो । अन्तमा त्यही अस्पतालको एम्बुलेन्समा लाने कुरा गर्दा कोटेश्वरबाट नौ किलोमिटर दूरी रहेको सो अस्पतालसम्मको भाडा सुन्दा नै कहाली लाग्यो । नौ किलोमिटर दूरीको एम्बुलेन्स प्रयोगको मूल्य भनियो पाँच हजार । त्यहीँबाट यो देशमा सरकारको उपस्थिति नरहेको अनुभव हुनपुग्यो ।

 

केही नलागेपछि निजी अस्पताल परिसरमा छिर्‍यो, एम्बुलेन्समा प्रतिकिमि चार सय पचासबराबरको भाडा तिरेर । त्यतिखेर रातको नौ बजेको थियो । त्यहाँ आकस्मिक कक्षमा छोटो परीक्षण भएपछि बिरामीको कुरुवाको नाताले मलाई केही विवरण लेखिएका कागतका पानाहरू प्राप्त भए र भनियो माथि नगद शाखामा जानू । अप्रत्याशित रूपमा अस्पताल जानुपर्दाको स्थितिमा घरमा सबैसित रहेको पैसा झारझुर गर्दा पुगनपुग हामीसित ४४ हजारजति थियो । मैले ती विवरण लेखिएका पानाहरू नगद शाखामा दिएपछि त्यहाँका स्वास्थ्यसेविका कर्मचारी (?) हरूसित भएका सवाल र जवाफहरू निम्न थिए ।

 

यो अस्पतालमा लागेको खर्चबारे कतै उजुरबाजुर गर्नेछैन भनेर छुट्टै कागतमा ल्याप्चे लगाउन लगाइएको छ । दिनदहाडै स्वास्थ्य सेवाका नामका ब्रह्मलुट गर्दा राज्य कति निरीह रहेछ भन्ने महसुस गरिरहेको छु ।

 

स्वास्थ्यसेविका कर्मचारी, एक लाख ल्याउनुस् । म त छाँगाबाट खसेझैँ भएँ । कताकता सुनेको थिएँ कोरोनाको महामारीमा निजी स्वास्थ्यसेवाले खर्च गरेको रकम सरकारले व्यहोर्छ भनेर । मैले ती स्वास्थ्यसेविका कर्मचारीलाई निम्न अनुरोध गरेँ । म अर्थात् कुरुवा (?) – सिस्टर मसित अहिले ४० हजार मात्रै छ । अहिले भर्ना गरिदिनुस् । भोलि बाँकी रकमको व्यवस्थापन गर्छु । स्वास्थ्यसेविका कर्मचारी (?) – हुँदैन । अहिल्यै म्यानेज गर्नुस् । 

 

मलाई भित्रभित्रै रिस उठे पनि सम्हालिँदै भने, ‘सिस्टर एक्कासि अस्पतालमा आएर भर्ना हुनुपर्दा अहिल्यै सबै व्यवस्थापन गर्न सकिएन । बिरामीको केस हो, भर्ना गराउनुहोस् बाँकी भोलि हुन्छ । 

 

स्वास्थ्यसेविका कर्मचारी (?)– एटिएम सेटिएमको प्रयोग गर्नुहोस् । फोनफान गर्नुहोस् । हामीलाई पनि म्यानेजमेन्टको अर्डरको पालना गर्नुपर्छ । छिटो गर्नुहोस् । 
अब भने मलाई पनि रिसले पारो तात्यो । मैले केही ठूलो स्वरमा भनेँ, ‘तपाईंहरूको मेन बोसलाई मसित कुरा गराउनुहोस् । म उहाँसित कुरा गर्छु । यो रातको १० बजे मकहाँबाट त्यत्रो पैसा म्यानेज गराँै ? सय होइन, हजार होइन । त्यत्रो एक लाख म अहिलेको अहिले कसरी उब्जाऊँ ? के मैले बिरामीलाई फिर्ता लाने ?’ 

 

मैले अलि ठूलै स्वरमा यसो भनेपछि त्यहाँ हुने अन्यको पनि ध्यानाकर्षण भएछ क्यारे, ती स्वास्थ्यसेविका कर्मचारी (?) एउटा के–के विवरण छापिएको कागत बोकेर यताउता गर्दै उनका सहकर्मीहरूलाई केही सोध्न पुगिन् । उनीसँगै रहेकी उनकी अर्की सहकर्मीले मलाई यसो भन्न पनि भ्याइन्, ‘तपार्इंले बिस्तारै बोले पनि हामी सुन्छौँ ।’  मैले पनि अलि बिस्तारै भनेँ, ‘मैले सानै स्वरमा नै हजुरलाई सुरुदेखि नै अनुरोध गरिरहेको हुँ नि ।’ 

 

मैले यसो भनेपछि मेरो भनाइलाई बेवास्ता गर्दै तिनले अर्कातिर मुन्टो फर्काइन् । यतिवेला अघिल्ली स्वास्थ्यसेविका कर्मचारी (?)ले मेरा अघिल्तिर एउटा कागत हुर्‍याउँदै भनिन् । यो भरेर ल्याप्चे लाउनुस् । 

 

मैले यसो कागत पढेँ । कागतमा फलानो बिरामीको बाँकी रकम भोलि १२ बजेसम्ममा चुक्ता गर्नेछु । सो समयमा चुक्ता गर्न नसके अस्पताल प्रशासनको नियम कानुनअनुसार सहुँला बुझाउँला भनी यो भरपाइ गरिदिएको छु । यस्तो लेखिएको कपाली तमसुकमा मैले सही गरी ल्याप्चे ठोकेपछि बिरामीले अस्पतालमा भर्ना पाउनुभयो ।

 

अहिले यी पंक्तिहरू लेख्दासम्म उहाँको उपचारको क्रम पाँचौँ दिनमा चल्दै छ । एउटा लबी जसमा सातवटा बेडहरू रहेका छन् जसको बेड चार्ज मात्र प्रतिरात रु. १५ हजार रहेको छ भने अन्य डाक्टर र नर्सहरूको दैनिक परामर्शबापत छुट्टै रकम तिर्नुपर्छ । अझ रमाइलो कुरा त के छ भने यो अस्पतालमा लागेको खर्चबारे कतै उजुरबाजुर गर्नेछैन भनेर छुट्टै कागतमा ल्याप्चे लगाउन लगाइएको छ । दिनदहाडै स्वास्थ्यसेवाका नामका ब्रह्मलुट गर्दा राज्य कति निरीह रहेछ भन्ने महसुस गरिरहेको छु । राज्य अस्पतालका अध्यक्षको पहुँच राज्यका निकायहरूको कति माथिसम्म पुगेको रहेछ भन्ने कुराको आकलन पनि यो तथ्यबाट थाहा हुन्छ ।

 

काठमाडौंको रिङरोडछेउमा रहेको अस्पतालको भवनलाई भर्ना गरेको भोलिपल्ट नियालेँ, जसका करिब एकदर्जन तला रहेछन् । भवनको छेउमा रहेको टहरामा भीषण भिडभाड थियो । राज्यले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन मनाही गरिरहेका वेला त्यहाँ २५ सय मान्छे त न्यूनतम नै थिए । त्यो भिडभाडको कारण बुझ्ने क्रममा थाहा भयो त्यहाँ चर्काे मूल्यमा विदेश जान चाहनेहरूलाई पिसिआर गरिँदोरहेछ । यी पंक्तिहरू लेख्दासम्म म दैनिक त्यो अस्पताल नामको पैसा असुली अड्डामा गइरहेको छु, त्यहाँको त्यो टहराको भिडभाड घट्नुको साटो अझ बढ्दो छ । राज्यका सारथीहरू प्रदेश र केन्द्रको सत्ताको लुछाचुँडीमा रमाइरहेका वेला स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भइरहेको यस्तो बेथिति र मनोमानीको नियमन गर्ने निकाय जिउँदो छ या मृत छुट्याउनेतर्फ ध्यान कसैको गए हुन्थ्यो ।

 

अस्पतालको वास जारी छ अब डिस्चार्ज गर्ने वेलाको खुसियालीलाई त्यहाँका स्वास्थ्यसेविका कर्मचारी (?) हरूले कुन रूपमा प्रस्तुत गर्ने हुन् र खुसियाली कता मोडिने हो त्यो भोग्नै बाँकी छ । यो समाचार नयाँ पत्रिकाको अनलाईमा कमल सुवेदीले लेख्नु भएको छ ।


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२