उत्कृष्ट विद्यालय भेट्नै मुस्किल

  • Rakesh Singh
  • प्रकाशित मिति: भदौ 3, 2076
  • 152 पटक पढिएको

काठमाडौँ — सामुदायिक विद्यालयबीच गरिएको अध्ययनमा उत्कृष्ट विद्यालय भेट्नै मुस्किल परेको छ । सरकारले नमुनाका रूपमा छनोट गरेका विद्यालयको अवस्था पनि कमजोर पाइएको छ ।शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सामुदायिक विद्यालयको कार्यसम्पादन मूल्यांकन गरेको थियो । मुलुकभरका २ हजार विद्यालयमाथि गरिएको अध्ययनमा एउटा विद्यालय मात्र उत्तम (उत्कृष्ट) श्रेणीमा पर्न सफल भएको छ ।

केन्द्रको प्रतिवेदनअनुसार सबैभन्दा धेरै १ हजार ६ सय ४४ विद्यालय सामान्य श्रेणीमा परेका छन् । अति कमजोर श्रेणीका १७ र मध्यमस्तरका ३ सय ५ वटा छन् । केन्द्रले कमजोर, सामान्य, मध्यम र उत्तम गरी ४ श्रेणीमा विद्यालयको कार्यसम्पादन परीक्षण गरेको थियो । लगानी, प्रक्रिया, उपलब्धि र विद्यार्थीलाई आधार मानी २६४ पूर्णांकमा ती विद्यालयको परीक्षण गरिएको हो । तीमध्ये ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यालयलाई कमजोर स्तरमा र ४० देखि ७० प्रतिशत अंक ल्याउनेलाई सामान्य स्तरमा वर्गीकरण गरिएको छ । ७० देखि ९० सम्म प्रतिशत प्राप्त गर्नेलाई मध्यम र ९० भन्दा बढी ल्याउनेलाई उत्तम मानिएको छ ।
केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले अधिकांश सामुदायिक विद्यालयको स्तर कमजोर पाइएको जनाए । लगानीलाई २५, प्रक्रियालाई ३०, उपलब्धिलाई ४० र सेवा प्राप्त गर्ने विद्यार्थीलाई ५ प्रतिशत अंक भार दिएर मूल्यांकन गरिएको थियो । नमुनाका रूपमा छनोटमा परेका ३२ विद्यालयमा गरिएको स्तर मापनमा एक विद्यालय कमजोर, २३ वटा सामान्य र ८ वटा मध्यमस्तरको पाइएको प्रतिवेदन उल्लेख छ ।
सरकारले देशभर १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको छ । छनोटमा परेकालाई सरकारले विशेष आर्थिक सहयोग गर्छ । शिक्षा मन्त्रालयले पहुँचका आधारमा यस्ता विद्यालय छान्ने गरेकोमा आलोचना हुने गरेको छ ।
सिकाइ उपलब्धि खस्किँदो
केन्द्रको अध्ययनमा सिकाइ उपलब्धि पहिलेभन्दा कमजोर बन्दै गएको औंल्याएको छ । केन्द्रले कक्षा ५ का विद्यार्थीको गणित र नेपाली विषयको सिकाइ स्तर मापन गरेको हो । नासा नामक रिपोर्टअनुसार गणितभन्दा नेपाली विषयमा बालबालिकाको सिकाइ स्तर राम्रो रहेको पाइएको छ ।
२८ जिल्लाका १ हजार ४ सय विद्यालय, शिक्षक, विषय शिक्षक र २८ हजार ३ सय विद्यार्थीसँग सर्वेक्षण गरेर रिपोर्ट तयार पारिएको हो । गणितमा कक्षा ५ मा अध्यनरत ३२ प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ हासिल गर्न सकेका छैनन् । ३९ प्रतिशतले कक्षाकोठामा न्यूनतम सिकाइमात्र प्राप्त गरेको अध्ययन संलग्न केन्द्रका अधिकृत श्यामप्रसाद आचार्यले जनाए । २८ प्रतिशत विद्यार्थीले
मात्र कक्षा ५ को गणित विषयमा आवश्यक सिकाइ उपलब्धि हासिल गर्न सकेको प्रतिवेदनको निष्कर्ष छ ।
नेपाली विषयमा २० प्रतिशत विद्यार्थीले कक्षाकोठामा पाठ्यक्रमको उद्देश्यअनुसार सिक्न सकेका छैनन् । ३५ प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ हासिल गरेको आचार्यले बताए । ४५ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ५ को नेपाली विषयमा सही सिकाइ उपलब्धि प्राप्त गरेका हुन् । ‘सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थी त्यो कक्षामा पढ्न योग्य छैनन् भन्ने बुझिन्छ,’ केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले भने, ‘न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका विद्यार्थीलाई सिकाउन धेरै मिहिनेत, लगानी र समय खर्च गर्नुपर्छ ।’
प्रदेशगत रूपमा हेर्दा प्रदेश १, कर्णाली र प्रदेश ५ का विद्यार्थी गणितमा कमजोर देखिएका छन् । नेपालीमा कर्णाली, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका बालबालिका कमजोर रहेको प्रतिवेदनले जनाएको छ । गणितमा प्रदेश २ र नेपालीमा गण्डकी प्रदेश सबैभन्दा अगाडि छन् । सामुदायिक र निजीतर्फको सिकाइ मापन विश्लेषण गर्दा गणिततर्फ करिब समान स्तर भेटिएको छ । नेपालीमा भने सामुदायिकभन्दा निजीको स्तर राम्रो देखिन्छ ।
सिकाइ उपलब्धिलाई मूल्यांकन गर्दा सन् २०१५ को भन्दा सन् २०१८ को उपलब्धि घटेको पाइएको हो । सिकाइ उपलब्धि सुधार गर्न शिक्षा नीतिमै परिवर्तन जरुरी रहेको शिक्षाविद् विनय कुसियतले प्रस्ट्याए । ‘सामुदायिक विद्यालयको सशक्त नियमन र अनुगमन हुन सकेको छैन,’ उनले भने, ‘त्यसैकारण सामुदायिक विद्यालय झन् आरोलो लाग्दै गए ।’
उपलब्धि घट्नुको कारण पत्ता लगाएर सुधार गर्न सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो । ‘शिक्षा मन्त्रालय आफैंले गरेको अध्ययनमा अवस्था डरलाग्दो गरी घटेको छ,’ कुसियतले भने, ‘सिकाइ, शिक्षक, विद्यालय वातावरण, पाठ्यक्रम, शिक्षा नीतिमै खोट भएकाले यस्तो भएको हुन सक्छ ।’


एक दिने नोवेल कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नः लक्षणहरु ?

गणेश कुमार ठाकुरसिरहा,फागुन ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने

शुक्रवार देशभर सार्वजनिक विदा

सिरहा,फाल्गुन ८ गते । संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरक

विद्युत् महसुल समायोजन प्रस्ताव सार्वजनिक वर्षको अन्त्यसम्म नयाँ दर

सिरहा,फाल्गुन ८ गते । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२