बद्री नारायण यादव
सिरहा,९ पुस । पहिचान, लोक गाथा र स्वास्थ्यसँग जोडिएका मिथिला चित्रकला तथा मिथिलाको खानपानलाई जोगाउन भरपुर प्रयास गरिने उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताइन् । सौर्य सिमेन्ट मिथिला लोक चित्रकला प्रतियोगीता २०८० को पुरस्कार वितरण समारोहमा त्यस्तो कुरा बताएकी छन् ।
मिथिला लोक चित्रकला र मिथिलाको मौलिकतासँग जोडिएका खानपानका परिकारलाई संरक्षण, व्यवस्थापन तथा व्यहारिक प्रयोग संगै बजारिकरण गर्न मधेश प्रदेश सरकारले बजेट छुट्याएको पर्यटनमन्त्री यादवले जनाइन् । आउने केही महिनाभित्र त्यस्ता कार्यको थालनी गरिने उनले थपिन् ।
‘दैनिक मजदुरी गर्नेहरुको कामलाई समाजले कतिपय अवस्थामा हेप्हा दृष्टिले देखिरहेको हुन्छ,’पर्यटनमन्त्री यादव भन्छिन्,‘हेप्हा दृष्टिकै कारण देशमा भएका उर्जावान युवा शक्ति विदेश पलायन भइरहेका छन् ।’ देशभित्र गरिने कुनै पनि कामलाई हेप्हा दृष्टिबाट देख्न उनले सबैसँग आग्रह गरिन् ।
सरकारले एक्कलै ठुला लगानीका उद्योगहरु संचालन गर्न सक्ने स्थितिमा नरहेको हुँदा नीजि क्षेत्रसँगको साझेदारीमा उद्योगहरु संचालनमा ल्याउन प्रावधानहरु ल्याइरहेको उनले जनाइन् । हिन्दी फिल्मको कथासँग जोडेर उनले भनिन्,‘कुनै कारणबस उद्योग डुब्दा मजदुरहरु आफ्नो लगानी र परिश्रमको बलमा उद्योगलाई प्रगतिको मार्गमा ल्याए जस्तै नेपालको कतिपय उद्योगहरुमा त्यस्तै गर्नुपर्छ ।’
देशभित्र धेरै प्रकारका साना तथा ठुला उद्योगहरु संचालन गर्न सक्ने सम्भावना रहेको र त्यसबाट हजरौं व्यक्तिहरुले रोजगार पाउन सक्ने अवसर सृजना हुन सक्ने उनले थपिन् । मजदुर र मालिकबीच आपसी एकता कायम गरेर अघि बढ्नुपर्ने उनले तर्क गरिन् । मजदुरी गर्ने हरेक तह र तप्काका व्यक्तिलाई सम्मान दृष्टिले सकारात्मक रुपमा हेर्न उनले सबैसँग आग्रह गरिन् ।
मधेश प्रदेशभित्रका जानकी मन्दिर, गढिमाई मन्दिर, राजा सल्हेश मन्दिर लगायत अन्य धार्मिक पर्यटन स्थलहरुको विकास र व्यवस्थापनतिर प्रयास थालिएको उनले बताइन् । संघीयता आएपनि मधेश प्रदेशको मातहतमा कर्मचारी र सुरक्षा नआएको हुनाले काम गर्न कठिन भइरहेको उनले प्रष्ट्याइन् ।
महिला हिंसा, बालात्कार जस्ता अन्य अपराधिक घटनालाई जोडेर मिथिला चित्रकला बनाउन डा।राजेन्द्र बिमलले सुझाव दिए । मिथिला चित्रकला बन्यो भने यस्ता धेरै अपराधिक क्रियाकलापमा न्यूनीकरण आउने उनले तर्क गरे । तराई मधेशको पहिचानलाई थप उचाईमा पु¥याउनुका साथै रोजगारी समेत सृजना गर्ने भएकोले यस्तालाई मधेश प्रदेश सरकार र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।
मजदुर र जग्गावालासँग विगतमा भएका सहमतिलाई व्यवहारमा लागु गर्न सौर्य सिमेन्टसँग मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले जोडदार माग गरे । स्थानीय व्यक्तिलाई रोजगारी सृजना हुनेतिर विषेश ध्यान दिन उनले उद्योग संचालन गर्ने नेतृत्वसँग आग्रह गरे ।
मजदुर र जग्गाबालासँग धोकाधरी गर्नेहरुको बिरुद्धमा जान पछि नपर्ने उनले प्रष्ट्याए । कानून भन्दा माथि कोही पनि नभएकोले मजदुर संगठन खोल्न र संचालन गर्न सक्ने कानूनमै रहेकोले त्यसमा कसैले हस्क्षेप गर्न नमिल्ने उनले सचेत गराए । एकपक्षीय रुपमा उद्योगका मालिक मोटाउने हैन कि स्थानीय स्तरमा रहेको कृषि, शिक्षा,सडक संजाल लगायत अन्य पक्षमा काम गर्न उद्योग नेतृत्वसँग आग्रह गरे ।
कर्जन्हा र मिर्चैया क्षेत्रका वातावरणीय सुद्धतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सौर्य सिमेन्ट उद्योग संचालन गर्ने नेतृत्व पक्षलाई कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला पोखरेलले सुझाव दिए । वातावरणीय रक्षा, समाजको चौतर्फी विकासमा सहयोग गर्न कर्जन्हा नगरपालिका तयार रहेको उनले प्रतिबद्धता जनाए ।
सहभागीहरु मध्ये उत्कृष्ट चित्रकला बनाएकोमा प्रमाण पत्र सहित रुवी कर्णलाई प्रथम पुरस्कार ७५ हजार, नेहा दासलाई द्वितिय पुरस्कार ५० हजार, बिना कर्णलाई तृतीय पुरस्कार २५ हजार प्रदान गरिएका छन् भने सरस्वति कुमारी महतो, सोनम देवी कर्ण, हिरा देवी कर्ण, रुवी देवी कर्ण, पुनम कुमारी देवी, राखी कुमारी, सुमन कुमारी, राजकुमारी खत्वे, पुनम झा लगायतलाई शान्त्वना पुरस्कारको प्रमाण पत्र र जनही ११ हजारका दरले नगद प्रदान गरिएको आयोजकले जनाए ।
मिथिला लोक चित्रकला प्रतियोगीता संचालनका लागि सुनैना मिथिला आर्ट ग्यालरीकी सुनैना ठाकुर, मिथिला चित्रकलाकर्मीद्वय श्यामसुन्दर यादव र मिथिला यादवले सौर्य सिमेन्ट उद्योगसँग समन्वयात्मक भुमिका निर्वाह गरेको थियो । अत्यन्त जोखिम लिएर तीनै जनाले मिथिला लोक चित्रकला प्रतियोगीतालाई सफल बनाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सौर्य सिमेन्ट उद्योगको दक्षिणी पर्खालामा बनाइएको मिथिला लोक चित्रकलाले तराई मधेशमा लोप भइरहेको सामा–चकेवा, वन जंगल, ढिकी–जाँतो, पौरानीक गाउँ–घर, विवाह, पाल्की लगायतका पहिचानमुखी अन्य पक्षलाई उजागर गरिएको सुनैना मिथिला आर्ट ग्यालरीकी संचालिका सुनैना ठाकुरले बताइन् । पुरस्कार वितरण समारोहको अध्यक्षता गुरुदयाल महतोले गरेको थियो ।